सिईओ काे दवाव थेग्न नसकेर सगरमाथा ईन्स्युरेन्सका दर्जन कर्मचारीद्धारा राजिनामा


काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका एक दर्जन कर्मचारीले राजिनामा दिएका छन् । कम्पनीका सिईओ चंकी क्षेत्रीको दवाव थेग्न नसकेपछि राजिनामा दिएका हुन् ।

पछिल्लो पटक राजिनामा दिनेहरुमा विभागीय प्रमुख समेत रहेको जनाइएको छ । कम्पनी स्रोतका अनुसारले केहीको राजिनामा स्वीकृत भएपनि केहीको भने अझै बाँकी रहेको जनाइएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी विश्वनाथ अधिकारीले केही कर्मचारीहरुले राजिनामा दिएको स्वीकार गरे । उनले कर्मचारीहरुले राजिनामा दिनु नियमित प्रक्रिया भएकोले त्यो सामान्य विषय भएको जानकारी दिए ।

सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गर्ने वातारण बिग्रदै गएपछि कर्मचारीहरुले धमाधम जागिर छोड्ने क्रम बढेको हो । कम्पनीभित्र कर्पोरेट कल्चर कमजोर बन्दै गएको, सिईओ क्षेत्रीले अनावश्यक रुपमा गाली गर्ने गरेको तथा कर्मचारीहरुमाथि पक्षपातपूर्ण व्यवहार गर्ने गरेका कारण कम्पनी छोड्नेको लर्को लागेको हो ।

यसअघि कम्पनीका डेपुटी सिईओ एसके रावल राजिनामा दिएर अर्को कम्पनीमा सिईओ बन्न गइसकेका छन् । रावल नयाँ कम्पनीको सिईओ बन्न भन्दा पनि सगरमाथा इन्स्योरेन्समा काम गर्ने वातारण बिग्रदै गएपछि जागिर छोडेका थिए । उनी क्षमतावान र इमान्दार बीमा प्रशासक हुन् ।

एकै पटक ठूलो संख्यामा कर्मचारीहरुले राजिनामा दिएपछि सिईओ क्षेत्रीको नेतृत्व क्षमतामाथि प्रश्न चिन्ह उठेको छ । कर्मचारीहरुले भटाभट राजिनामा दिएपछि तनाव महसुस गरेका उनी गत साता फ्रेस हुन भन्दै घुमेर नेपाल फर्केका छन् ।
कम्पनीबाट ठूलो संख्यामा कर्मचारीहरुले राजिनामा दिएपछि चैत्र ९ गते सार्वजनिक सूचना प्रकाशन गरेर कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर एक जना, अफिसरसहित दर्जनभन्दा बढि कर्मचारीहरु माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *