उद्योगी हमालले गरे धनगढीको मेयरमा उम्मेदवारी घोषणा


धनगढी । सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
दोस्रो पटक धनगढीको मेयरमा चुनाव लड्न लागेका हमालले धरै समर्थकहरूका बीच उम्मेदवारी घोषणा गरे । उनी यसअघिको स्थानीय तहको चुनावमा पनि स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए । यद्यपि उनी त्यसबेला पराजित भए ।

उनले अन्तिम पटक उम्मेदवारी दिएको बताउँदै भने, ‘मेयरमा विजयी भएपछि स्वयंसेवकका रूपमा काम गर्छु । उपमहानगरपालिकाको गाडी पनि चढ्दैन, इन्धन पनि लिन्न ।’ उनले मेयरले पाउने कुनै लाभ नलिएर निस्वार्थ रूपमा काम गर्ने घोषणासमेत गरे ।

धनगढीलाई नमुना सहर बनाउने आफ्नो सपना रहेको बताउँदै हमलले भने, ‘जसरी भारतका केजरीवालले दिल्ली र मोदीले गुजरातलाई नमुना बनाए, त्यसैगरी म धनगढीलाई नमुना सहर बनाउँछु । मलाई एकपटक अवसर दिन पर्यो ।’

धनगढी र यही प्रदेशले नै आफूलाई यही ठाउँमा पुर्याएको भन्दै उनले अब धनगढीका लागि निस्वार्थ भएर काम गर्ने बताए । ‘चुनावमा आफ्नै पार्टीमा हिँड्नुहोस्, मसँग नहिड्नुहोस्’, उनले भने, ‘तर भोट हाल्दा मलाई हाल्नुहोस् र विजयी गराउनुहोस् ।’

घोषणा सभामा पूर्वाधार विज्ञ डा। सूर्यराज आचार्यले हमालको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले हमालको ‘धनगढी मोडल’ स्थापित गर्ने हमालको सपना पूरा गर्न आफू पनि निःशुल्क रूपमा साझेदारी गर्न तयार रहेको बताए । उनले हमालको अभियानलाई धनगढीवासीले सफल पार्ने आशा व्यक्त गरे ।

हमाल कैलाली उद्योग वाणिज्य संघ पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघको पूर्व केन्द्रीय सदस्य पनि हुन् । उनले कैलाली उद्योग वाणिज्य संघ नेतृत्व गर्दा संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए ।

उनी दिनेश ग्रुपका सञ्चालक पनि हुन् । जसअन्तर्गत विभिन्न व्यापार व्यवसाय छन् । हमाललाई व्यवसायीहरूको साथ रहेको बताइन्छ ।

यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा सिद्धराज पनेरू, वडा नम्बर ५ मा पमराज भट्ट ‘प्रभास’, वडा नम्बर १४ मा यम लामिछाने र वडा नम्बर १५ मा कमलबहादुर ढाटले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *