नयाँ सरकार बनाउन दाहालको दौडधुप


काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो। प्रतिपक्ष दलहरूको समर्थन जुटाएर दाहालकै नेतृत्वमा सरकार निर्माणका लागि उनले दौडधुप सुरू गरेको अनुमान राजनीतिक विष्लेशकहरू बताउँछन्।

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल सुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन। अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ। नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन।

ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ। जसपालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा वार्ता टोली गठन गरेका छन्। गृहमन्त्री थापाले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउनेलगायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन्। जसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार सरकारसँग आफ्नो पार्टीले राखेका मागबारे वार्ता आरम्भ भएको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसँग भेटी प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल गरेका हुन्। देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दाहालले नयाँ सत्ता समीकरणका लागि सहयोग गर्न र प्रधानमन्त्रीसमेत बन्न आग्रह गरे। त्यसलगत्तै दाहालले उपराष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईलाई भेटेका थिए। सत्ता गठबन्धनबारे जसपामा दुई धार देखिएको छ।

उपेन्द्र यादव र भट्टराई ओलीलाई समर्थन गर्न नहुने पक्षमा छन्। ठाकुर–राजेन्द्र महतो ओलीनिकट देखिएका छन्। जसपाका दुई समूहबीच विवाद रहेका बेला दाहालले भट्टराईसँग भेट गरेका हुन्।

गत शनिवारको एक नागरिक समाजको कार्यक्रममा अध्यक्ष दाहालले केही दिन भित्रै सरकारलाइ दिइएको समर्थन फिर्ता लिने बताएका थिए। समर्थन फिर्ता लिएपछि दाहालकै नेतृत्वमा अर्को सरकार निर्माणका लागि उनी कांग्रेसलगायत पार्टीको समर्थन प्राप्त गर्नका लागि दौडधुपमा लागेको विष्लेशक बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *