कांग्रेस महाधिवेशनमा सिटौला सभापतिमा लड्ने सम्भावना


काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग सहकार्य गरेर आफ्नो पार्टी सरकारमा नजाने दाबी गरेका छन्। उनले अब ओलीसँग देशलाई राजनीतिक नेतृत्व दिने हैसियत बाँकी नरहेको टिप्पणी गरेका छन्।

मंगलबार प्रेस यूनियन शाखा सप्तरीले सदरमुकाम राजबिराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताए। उनले भने, ‘यसका निम्ति तयारी भइरहेको छ।’ उनले अगाडि भने, ‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा बन्ने सरकारले देशलाई निकास दिन्छ। सम्भवतः चैत महिनाभित्रै अर्को सरकारको निर्माण हुन्छ।’

प्रतिनिधिसभा विघटन गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेमा ओली अहिले पनि कुर्सीमा बसिरहेको उनले बताए।

पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा उहाँले राजीनामा दिनुहुन्छ भन्ने मनसाय पनि देखिँदैन। अब माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्यात्मक स्थिति आउँछ। यो भएन भने राजीनामा दिनुपर्छ।ु ओलीले राजीनामा दिएपछि बहुमतको आधारमा कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउने र यसका निम्ति छलफल चलिरहेको उनले बताए। लोकतन्त्र र संवैधानिक व्यवस्था बचाउन आवश्यक परेमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी सभापतिलाई भनिसकेको पनि नेता सिटौलाले बताएका छन्।

कांग्रेस महाधिवेशनको सन्दर्भमा नेता सिटौलाले पछिल्लो निर्णयमा अडिक रहनुपर्ने बताएका छन्। नेता सिटौलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताउँदै भने, ‘आगामी भदौ महिनामा निर्धारण भएको महाधिवेशन कुनै पनि बहानामा सार्नु भएन। यो पार्टीको बटमलाइन हो। योभन्दा पछाडि जानु हुँदैन।’

सिटौलाले महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने कुरा बाहिरिरहँदा उनले भने यस प्रसंगमा निर्णय नभइसकेको र समय आएपछि सार्वजनिक गरिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *