संक्रमित हरेक नागरिकको उपचारको यथोचित प्रबन्ध सरकारले गर्छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ

कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व भएको उहाँले स्मरण गर्नुभयो ।

उहाँले अहिले कोरोना महामारीबाट जनताको जीवनरक्षा गर्नुपनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको बताउनुभयो ।

‘यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनैपनि बहानामा पछि हट्दैन’(उहाँले भन्नुभएको छ ।

शुक्रबार बडादशैंको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको बताउनुभएको हो ।

उहाँले कोरोनाको परीक्षण र उपचारमामात्रै नभइ त्यसविरुद्धको खोपमा जनताको सहज पहुँचका लागिसमेत सरकार क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘महामारीविरुद्धको यस लडाईंमा हामी प्रत्येक सिपाही हौं । हामी हरेकको यस लडाईंमा आफ्नो सुरक्षा, परिवारको सुरक्षा अनि समुदाय र आमजनताको सुरक्षाको लागि योगदान हुनु आवश्यक छ’(उहाँले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो(‘सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्नेजस्ता हल्ला फेरि पनि सुनिएको छ । महामारी र महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षा गर्दछ । हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्षमात्र नभइ हामी नेपालीहरुको परम्परा नै रहेको छ । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको छ । सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ । मृतकहरुको शव व्यवस्थापनको सन्दर्भमा पनि केही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी छ ।’

सम्बोधनका क्रममा उहाँले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *