नगर प्रमुख भट्टले गरे खलंगा खानेपानी आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर


दार्चुला,  खलंगाका प्रत्येक घरधुरीमा २ वर्षभित्र चौबिसै घण्टा खानेपानीको सुविधा पुग्ने महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताएका छन् । विहीवार खलंगा खानेपानी आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख भट्टले आगामी दुई वर्ष भित्र प्रत्येक घरधुरीमा चौविसै घण्टा खानेपानीको सुविधा पुग्ने बताएका हुन् ।

विहीवार आयोजना व्यवस्थापन कार्यालयको तर्फबाट आयोजना निर्देशक राम कुमार श्रेष्ठ, महाकाली नगरपालिकाको तर्फबाट नगरप्रमुख हंसराज भट्ट, नगर विकास कोषको तर्फबाट प्राविधिक अधिकृत सुवास राज पन्त र खलंगा खानेपानी, ढल तथा सरसफाइ उपभोत्ता संस्थाको तर्फबाट अध्यक्ष जयदेव जोशीले आयोजना व्यवस्थापन तथा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हालको आधारभूत खानेपानीको व्यवस्थामा सुधार एवं स्तरोन्नति गर्दै प्रत्येक घरधुरीमा नियमित खानेपानीको सुविधा पुग्ने नगर प्रमुख भट्टले बताए । दुई वर्षभित्र नियमित रुपमा घरघरमा खानेपानीको सुविधा पुग्ने गरि आयोजना निर्माणको काम थालिने उहाको भनाइ छ ।

खलंगामा निर्माण गरिने आयोजनाको समयावधि डेढ वर्षको रहेको छ । आयोजनाबाट २ हजार २ सय ७६ घरधुरी एवं २२ हजार ५ सय ९१ जनसंख्या लाभान्वित हुनेछन् । निर्माण गरिएका खानेपानी आयोजनाका सबै संरचनाहरु नगरपालिकाको स्वामित्तमा रहने छन् । डेढ वर्ष ठेक्काको समयावधि रहने सो आयोजनाको १ वर्ष ठेकेदार मार्फत संचालन हुने र त्यसपछि खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिने जनाइएको छ । नगर आयोजनाको निर्माण कार्य आव २०७७÷७८ बाट सुरु हुने उहाले बताए । खानेपानी तथा सरसफाइ आयोजना निमार्णको कुल लागत ३३ करोड २६ लाख ३ हजार ७ सय ९३ रुपैयाँ १३ पैसा अनुमान गरिएको छ । खानेपानी आयोजना बनेपश्चात खलंगाको खानेपानी समस्या समाधान हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *