हप्तामा दुई दिन न्यायिक इजलास हुने


पोखरा । पोखरा महानगरपालिकाको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुने भएको छ । यसअघि हप्तामा एक दिन मात्रै सञ्चालन हँुदै आएको इजलास अव हरेक सोमबार र बधुबार गरी दुई दिन सञ्चालन गर्ने गरेको न्यायिक समितिका सदस्य किशोर बरालले जानकारी दिनुभयो ।

“कोभिड–१९ का कारण सातामा एक दिन गर्दै आएकामा पछिल्लो समय उजुरीको सङ्ख्या बढ्न थालेपछि दुई दिन इजलास सञ्चालन गर्ने बैठकबाट निर्णय भएको छ”, बरालले भन्नुभयो । उहाँका अनुसार हप्तामा एक दिन सञ्चालन गर्दा धेरै भीड हुने भएकाले त्यसलाई कम गराउने उद्देश्यले सोमबार र बुधबार इजलास बस्ने निर्णय गरिएको हो ।

न्यायिक समितिले सरकारले घोषणा गरेको लकडाउनमा नागरिक न्यायबाट बञ्चित हुने अवस्था नहोस् भनेर अनलाइन उजुरी लिने व्यवस्था गरेको थियो । चैत ११ को बन्दाबन्दीयता तीन अनलाइनसहित २४ उजुरी दर्ता भएका छन् । त्यसमा तीन फैसला र एक मेलमिलाप भएको छ । बाँकी २० उजुरी टुङ्ग्याउने प्रक्रियामा रहेको बरालले जानकारी दिनुभयो । उजुरी परेको दुईदेखि तीन महिनामा टुग्याउनु पर्ने नियम रहेको छ ।

पोखरामा न्यायिक इजलास २०७५ मंसिरबाट सञ्चालनमा आएको हो । विवादका पक्षहरुले आफैँले निर्वाचित जनप्रतिनिधिसँग खुलेर राख्न पाउने, आर्थिक बोझ नहुने र विवाद समाधान गर्दा मेलमिलापलाई प्राथमिकता दिइने भएकाले न्यायिक समितिमा उजुरी गर्नेहरुको सङ्ख्या बढदै गएको छ ।

स्थानीय तहको विवाद स्थानीयस्तरमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ । न्यायिक समितिलाई १३ वटा विवादको फैसला र ११ वटाको मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *