चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार


चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिनुभयो ।

कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ ।

पौडेलले भन्नुभयो, “प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो ।” अठार वर्ष उमेरमाथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाइ छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा।डा। हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताउनुभयो । उहाँले क्रमशः अन्य बिरामीलाई पनि आवश्यकता र उपलब्धताअनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिनुभयो ।

जिल्लामा गम्भीर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । सो मेडिकल कलेजले कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *