अष्ट्रेलियामा बिरालोलाई सेक्योरिटी गार्ड बनाइयो


काठमाडौं । बाच्नुमात्र पर्छ धेरैकुरा हेर्न मिल्छ झै अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ ।
कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा अवस्थामा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्पतालले सुरक्षा गार्डको जागिर दिएको हो ।
रिपोर्ट अनुसार उक्त बिरालोको नाम एलउड हो । उसलाई रिचमण्ड सहरस्थित एपवर्थ अस्पतालले सेक्योरिटी गार्डको रुपमा भर्ना गरी काममा खटाएको छ ।
अस्पताल प्रशासन उक्त सुरक्षा गार्ड बिरालोलाई बकाइदा एउटा परिचयपत्रसमेत दिएको छ, जसमा उसको फोटो, उसको नाम तथा कामसमेत उल्लेख छ । ड्युटीमा रहेको बेला एलउडले उक्त परिचयपत्र आफ्नो घाँटीमा भिर्ने गर्दछ ।
एपवर्थ अस्पतालमा प्याथोलोजिष्टको काम गरिरहेका च्यान्टेल ट्रोलिपका अनुसार उक्त बिरालो पछिल्लो एक वर्षदेखि अस्पतालको मुख्य गेटको आसपास यत्तिकै घुम्ने गर्दथ्यो । सो बिरालो कसैले पालेको बिरालो नभएको हुँदा त्यसको बस्ने ठेगान पनि थिएन । दिनहुँ अस्पतालको मुख्य गेटमा आएर यताउता गर्ने उक्त बिरालोमाथि अस्पतालका कर्मचारीको नजर पर्यो । त्यसपछि त्यसलाई अस्पतालले नै पाल्ने र सुरक्षा गार्डका रुपमा खटाउने आइडिया फुर्यो ।

सुरक्षा गार्डको रुपमा भर्ना गरिएको एलउडले तलब कति पाउला रु उसलाई कुनै नगद तलब भत्ता दिनु पर्दैन । मिठो–मिठो खानेकुरा, मज्जाको हेरचाह र बसोबास नै उसको तलब हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *