बाढीले बगाएर अछाममा १७ जना बेपत्ता, दुईको मृत्यु


काठमाडौँ । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीपहिरोेमा परी बाजुरामा दुई जनाको मृत्यु

बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा घर नजिकै आएको पहिरोमा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका–५ की तीन वर्षीया सनिका बुढा रहेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

त्यसैगरी सोही घरकी पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएका छन् । गए राति सुतेको बेला घरमाथिबाट आएको पहिरोमा परी बालिकाको मृत्यु भएको र दुई घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभएको छ । पहिरोमा परी घरको सबै सामान नष्ट हुनुका साथै दुई बाख्रासमेत च्यापिएको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ ।

त्यस्तै राति घट्ट पिस्न गएको समयमा बाजुराको बूढीनन्दा नगरपालिकामा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ । घट्ट पिस्न गएको समयमा बड्डीगढ नदी बढेर गएसँगै मृत्यु भएको हो । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–६ की भीनु ल्वार रहेकी छन् । ती महिलाको शव खोलाको तीरमा भेटिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताउनुभयो ।

बेवारिसे शव फेला

जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा एक जनाको बेवारिसे शव फेला परेको छ । आज बिहान एक वृद्धाको बेवारिसे शव फेला परेको र सो शव सडेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

शव पूर्णरूपमा सडेका कारण कसको हो भनी पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभएको छ । सोही क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–६ लाटुबस्ती बस्ने ६० वर्षीया मानसिक सन्तुलन गुमाएकी धनसरा लुहार गत साउन २९ गतेदेखि हराएकाले शव उनकै हुनसक्ने आशङ्का गरिएको स्थानीयवासीले बताएका छन् । सडेको अवस्थामा फेला परेको शव पहिचान गर्न आफन्तलाई बोलाएको प्रहरीले बताएको छ । हिजो रातिको अविरल वर्षासँंगै खोलामा बाढी आएर खोलाको तीरमा सो शव फेला परेको प्रहरीले जनाएको छ । कोल्टीको नुरी हँुदै आएको बाढीले कोल्टी आसपासका क्षेत्रममा ठूलो धनजनको क्षति पु¥याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *