काठमाडौं ,प्रहरी नियन्त्रणमा रहँदा आफूलाई आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा राखिएको तथा विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब र धम्की दिइएको भन्दै इनम सापकोटाको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।सापकोटाले सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही व्यक्तिविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।
आफूले ती व्यक्तिहरूविरुद्ध बयान दिए रिहा गरिने, बयान नदिए आफू तथा आफ्नो परिवारलाई समेत अप्ठ्यारोमा पारिने भन्दै धम्की दिइएको उनको दाबी छ।
सापकोटाकी श्रीमती कविता पाण्डेले राष्ट्रिय मानव अधिकार आयोगको ललितपुरस्थित कार्यालयमा उजुरी दिँदै परिवारको सुरक्षा तथा घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।
उजुरीमा प्रहरीले आफूलाई थाहा नभएका विषय समेटिएको कागजातमा हस्ताक्षर गर्न दबाब दिएको, धम्की दिएको तथा अनुसन्धान पूरा नहुँदै सञ्चारमाध्यमबाट दोषीका रूपमा प्रस्तुत गरिएको आरोपसमेत उल्लेख गरिएको छ।
सापकोटाले आफूलाई नियन्त्रणमा लिने तथा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र झुटा प्रमाण सिर्जना गर्ने व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न मानव अधिकार आयोगसँग माग गरेका छन्।

