एमालेको ‘किल्ला’ मुस्ताङमा कांग्रेसले गर्‍याे क्लिन स्वीप, ४० वर्षमुनिका ३ उम्मेदवार विजयी


पोखरा । नेकपा एमालेले गण्डकीमा सबैभन्दा सुरक्षित जिल्ला ठानेको हो मुस्ताङलाई । प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिट जित्ने आकलन एमालेको मात्रै होइन, स्वयं कांग्रेसले पनि एमालेलाई नै सुम्पिएको हो । त्यसैले कांग्रेसको उम्मेदवार छनोटमा खासै धेरै तनाव थिएन । कांग्रेसले तीनै जना ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार पठायो । एमालेका उम्मेदवार तीनै जना सांसदबाट निवर्तमान भएका थिए ।हेविवेट उम्मेदवारसँग चुनाव लड्न कांग्रेसलाई निकै कठिन ठानिएको थियो, त्यो पनि कमजोर जिल्लामा । कांग्रेसले प्रतिनिधि सभामा २९ वर्षका योगेश गौचन थकालीलाई उठायो । उनले एमालेका निवर्तमान सांसद प्रेम तुलाचन विरुद्ध उम्मेदवारी दिएका थिए ।

तुलाचन यस्ता व्यक्ति हुन्, जो लामो समय रोमी गौचनले कांग्रेसमा अवसर नदिएको असन्तुष्टिमा कांग्रेस छोडेर २०७४ को निर्वाचनमा एमाले प्रवेश गरे । उनी एमाले छिरेनन् मात्रै विपक्षी पार्टीबाट उनै रोमीलाई पराजित समेत गरे । योगेशले अहिलेको निर्वाचनमा ६० वर्षका तुलाचनलाई हराएर आफ्नो संसदीय ढोका मात्रै खोलेनन्, आफ्नै बाबुलाई हराउनेलाई पराजित गरेर बदला लिए । योगेश उनै रोमीका छोरा हुन् । उनले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिस्पर्धी तुलाचनले ३ हजार ७८ मत मात्रै पाए । रोमीले लामो समय मुस्ताङको राजनीति धाने । उनकै कारण धेरै कांग्रेसीहरु पार्टी छोडेर एमालेमा लागे । कांग्रेसकै असन्तुष्टलाई समेटेर एमालेले मुस्ताङलाई किल्ला बनायो । अहिले पनि मुस्ताङको चुनावका लागि रोमीलाई कांग्रेसले टिकट दिएको थियो । उनले आफ्नो टिकट छोरालाई सुम्पिए । छोराले सबैलाई अचम्मित पार्दै अप्रत्यासित रिजल्ट निकाले ।

भारतमा स्नातकोत्तर पढेर आएका योगेश पर्यटन व्यवसायी हुन् । उनले त्रिथुंगा ट्राभल्स एण्ड टुर, कालोपानी गेस्ट हाउस सञ्चालन गरेका छन् । यसपालि मुस्ताङमा युवा उमेरको कार्डले राम्रै काम गरेको देखिन्छ । प्रदेश सभामा पनि दुवै युवाले जीतेका छन् । प्रदेश सभा (क) मा निवर्तमान सांसद इन्द्रधारा विष्टलाई हराएर कांग्रेसकै नम्डु गुरुङले अप्रत्यासित छलाङ मारे । उनी गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए ।              अहिले नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिस्पर्धी विष्टले ७ सय ९३ मत पाए । नम्डु ३३ वर्षका भए । उनले ५३ वर्षका विष्टलाई हराएका हुन् । प्रदेश ख मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भएका हुन् । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । गौचन निवर्तमान सांसद हुन् ।योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ । विकल कोरियाबाट फर्केर राजनीतिमा जोडिएका थिए । उनी जनसम्पर्क समिति दक्षिण कोरियामा आबद्ध कांग्रेसको सक्रिय राजनीतिमा थिए । विकल ३९ वर्षका भए भने चन्द्रमोहन ५५ वर्षका हुन् । मुस्ताङमा ‘बा’ पुस्तालाई पाखा लगाएर ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *