प्रधानमन्त्री कप क्रिकेट स् एपीएफ क्लब फाइनलमा


काठमाडौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै १८३ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २१ बल खेल्दै एक छक्का र चार चौका प्रहार गरे । भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२, शाहव आलमले अविजित २१ तथा विक्रम शोबले १४ रन बनाए । बलिङतर्फ एपीएफका शरद् भेष्वाकरले तीन, अभिनाश बोहरा र भुवन कार्कीले दुई तथा दिपक बोहरार र किशोर महतोले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले दुई विकेट गुमाएर २३० रन जोड्यो । एपीएफका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच छक्का र १० चौकाको मद्दतमा ८४ रनको योगदान दिए । यस्तै लोकेश बमले अविजित ६६ तथा ओपनर प्रदीप ऐरीले अविजित ५७ रन बनाए ।

बलिङतर्फ आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट लिए । फाइनल खेल एपीएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागमतीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *