एकीकृत समाजवादीको पार्टी कार्यालय बानेश्वर आलोक नगरमा, शुक्रबार उद्घाटन


नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने भएका हुन् । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे पार्टी कार्यालय उद्घाटन गर्ने जानकारी दिएका छन् । अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिए । सो अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसुर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बन्धित अध्यादेश अलपत्र परेको जनाए । उनले विधिको शासन कायम गर भन्ने नेकपा (एमाले) ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाए । यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्को हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *