अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी


काठमाडौँ, चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ। यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो।

यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवानासम्बन्धी समाचार छापिएको थियो। त्यसलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरुसँग सम्पर्क गर्दा उनीहरूले यसबारेमा केही बताउन चाहेनन्।

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरूले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन्। यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि भर पर्दो र लोकप्रिय माध्यम बनेको छ।

तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उनी र उनका व्यवसाय सरकारी निकायहरूको आँखाका तारो बनेका छन्।

गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी “एन्ट ग्रुप”ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–शाङ्घाई प्रारम्भिक शेयर निश्कासनलाई रोकिदिएका थिए। त्यसको एक महिनापछि अधिकारीहरुले अलिबाबाको व्यावसायिक गतिविधिको फाइलमाथि अनुसन्धान शुरु गरे। त्यही समय स्वयं ज्याक मा मध्य जनवरीसम्म सार्वजनिक रुपमा कतै देखा परेका थिएनन्।

चीनको पूर्वी शहर हान्झाउमा रहेको अलिबाबा कम्पनीले गत महिना राज्य प्रशासनका अधिकारीहरुलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको थियो। अलिबाबामाथि आफूसँग आबद्ध व्यापारीहरूलाई अन्य प्रतिस्पर्धी ई–कमर्श कम्पनीमा सूचीकृत हुन रोक्दै आएको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *