काठमाडौं ,सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् ।
नेपालबाट स्वास्थ्योपचार, धर्मकर्म र घुमफिरमा बढी नेपाली पर्यटक भारत जाने गर्छन् । गत वर्ष २ लाख १८ हजार ६ सय ४१ नेपालीले भारत भ्रमण गरे । यो संख्या भारत भ्रमण गर्ने टप टेन देशभित्र पर्न सफल भएको छ । जुन कुल पर्यटक आगमनको २.४ प्रतिशत हिस्सा हो
भारतीय पर्यटन मन्त्रालयको वार्षिक तथ्यांक अनुसार सन् २०२४ को तुलनामा २०२५ मा भारत भ्रमणमा जाने नेपाली पर्यटक संख्या बढेको छ । अघिल्लो वर्ष २ लाख २ हजार ५ सय १ नेपालीले भारत भ्रमण गरेको तथ्यांक छ । त्यस वर्ष नेपाल ११औं स्थानमा थियो । नेपालीले भारत भ्रमण गर्ने प्रमुख सिजन सेप्टेम्बर देखिएको छ । कम जाने समय भने मे हो ।
अघिल्लो वर्ष २०२४ मा बंगलादेश दोस्रो स्थानमा थियो । त्यस वर्ष १७ लाख ५० हजार १ सय ६५ बंगलादेशी पर्यटक भारत भ्रमणमा गएकोमा २०२५ मा यो संख्यामा भारी गिरावट देखिएको छ ।
२०२५ मा भारत भ्रमण गर्ने पर्यटक (प्रमुख १० देश)
| देश | पर्यटक संख्या |
| अमेरिका | १८,४१,७७२ |
| बेलायत | १०,८४,३१० |
| अस्ट्रेलिया | ५,४५,४३८ |
| क्यानडा | ५,४४,३२६ |
| बंगलादेश | ४,६८,६२१ |
| मलेसिया | ३,३६,८३२ |
| श्रीलंका | ३,०६,४२१ |
| जर्मनी | २,७३,५२६ |
| जापान | २,१९,१७४ |
| नेपाल | २,१८,६४१ |
२०२५ मा विश्वभरि डेढ अर्ब मानिस घुमफिरमा निस्किएका थिए । त्यसमध्ये धेरै विदेशी पर्यटक आकर्षित गर्ने देशमध्ये भारत २२औं स्थानमा थियो ।

