अनुसन्धानमा कैफियत नदेखिएपछि सन नेपाल लाइफका सिइओ अर्याल नियमित काममा फर्किए


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल अनुसन्धानका क्रममा कुनै कैफियत नदेखिएपछि शुक्रबारदेखि पुनः नियमित जिम्मेवारीमा फर्किएका छन्।
गत चैत १६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले कर्मचारीको आईपीओ कोटाअन्तर्गत बाँडफाँड गरिएको सेयरमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अर्यालमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा कुनै कैफियत नदेखिएपछि सिआईबीले उनलाई सफाइ दिएको कम्पनीले जनाएको छ।
अर्याललाई चैत २२ गते नै रिहा गरिएको भए पनि अनुसन्धान प्रक्रिया जारी रहेकाले उनी कार्यालय फर्किएका थिएनन्। यस अवधिमा कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाल ले सम्हाल्दै आएका थिए।
अनुसन्धान प्रक्रिया सम्पन्न भई सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त भएपछि अर्यालले आजदेखि पूर्ववत् रूपमा आफ्नो जिम्मेवारी सम्हालेका हुन्।
सिआईबीले कर्मचारीको आईपीओ सेयर बाँडफाँडमा अनियमितता भएको भन्ने उजुरीमाथि करिब चार महिनासम्म विस्तृत अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा कुनै अनियमितता पुष्टि हुन नसकेपछि अर्याललाई नियमित जिम्मेवारीमा फर्किन मार्ग प्रशस्त भएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *