काठमाडौं , संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुर मा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले उत्पीडित, बहिष्कृत र सीमान्तकृत समुदायको राजनीतिक सत्ता यात्रालाई नयाँ दिशा दिएको सहभागीहरूको निष्कर्ष रहेको छ ।
कार्यक्रममा पूर्वगृह राज्यमन्त्री, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य मो.रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
त्यस्तै बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन अम्बेडकर र नेपाल जनजागृति पार्टीका अध्यक्ष डाक्टर ध्रुवलाल निषाद विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम नन्दलाल सहनीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि मो. रिजवान अन्सारीले सम्बोधन गर्दै संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह ‘बस’ लाई उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीकका रूपमा प्रस्तुत गरे । उनले दलित, मुस्लिम, निषाद, पिछडावर्ग, अति पिछडा तथा आर्थिक रूपमा वञ्चित समुदायहरूलाई एकजुट भई राज्यसत्तामा आफ्नै प्रतिनिधित्व स्थापित गर्न ऐतिहासिक अवसर आएको बताए ।
“आजसम्म राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक रूपमा दमन, शोषण र बहिष्करणमा परेका समुदाय अब अरूका पछाडि होइन, आफ्नै नेतृत्वमा देश हाँक्ने समय आएको छ,” अन्सारीले भने, “संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह बसमा मतदान गरेर आफ्नै प्रधानमन्त्री, आफ्नै मुख्यमन्त्री र राज्यका सबै निकायमा उत्पीडित समुदायको निर्णायक उपस्थिति सुनिश्चित गरौँ।”
कार्यक्रममा विशिष्ट अतिथि बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन अम्बेडकरले परम्परागत दलहरूको आलोचना गर्दै भने, “एमाले, कांग्रेस र माओवादीले हामीलाई दलित बनाएको हो, भगवानले सबैलाई एउटै नासको बनाएर जन्माउनुभएको हो। त्यसैले आफ्नो अधिकारका लागि आफैँ लड्नुपर्छ र आफ्नो अधिकार सुरक्षित गर्न संसदमा आफ्नो प्रतिनिधित्व अनिवार्य छ।” उनले संघीय गणतान्त्रिक गठबन्धनको साझा चुनाव चिन्ह बसछापमा निलो मत हाल्न सबै उत्पीडित समुदायलाई आग्रह गरे ।
त्यसैगरी नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष डा. ध्रुवलाल निषादले संघीय गणतान्त्रिक गठबन्धनले सदियौँदेखि राज्यले उपेक्षा गर्दै आएको निषाद समुदायसहित सम्पूर्ण उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व गर्ने दाबी गरे । उनले भने, “संघीय गणतान्त्रिक गठबन्धनले कसैले नामसमेत नलिने निषाद समुदायलाई संसदसम्म पु¥याउने आधार तयार गरेको छ। यहाँ उपस्थित निषाद समुदायका जनप्रतिनिधिहरूले मतदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ भन्ने आशा र अपेक्षा गर्दछु।”
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि संघीय गणतन्त्रलाई व्यवहारमा उतार्न, समावेशी शासन व्यवस्था स्थापना गर्न तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न गठबन्धनको भूमिका निर्णायक हुने धारणा व्यक्त गरेका थिए ।
स्थानीय जनताको सहभागितासहित सम्पन्न कार्यक्रमले संघीय गणतान्त्रिक गठबन्धनको अभियानले देशव्यापी रूपमा नयाँ राजनीतिक तरङ्ग सिर्जना गरिरहेको स्पष्ट सन्देश दिएको छ ।

