वडा नम्बर २ र ३ मा सुपथ मूल्य पसल उद्घाटन : बेसहारा आमाबुवालाई राशन कार्ड वितरण


दार्चुला, बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रमअन्तर्गत शुक्रवार महाकाली नगरपालिका वडा नम्बर २ र ३ मा राशन कार्ड वितरण गरिएको छ । शुक्रवार दुबै वडाका ३७ जनालाई राशन कार्डसहित खाद्यान्न वितरण गरिएको हो ।

छोराछोरी गुमाएका वा नभएका ६० वर्षमाथिका आमाबुवालाई निःशुल्क खाद्यान्न तथा राशन कार्ड वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको छ । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले एक कार्यक्रमका बीच वडा नम्बर २ र ३ मा कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।

महाकाली नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत कार्यक्रम ‘बेसहारा आमाबुवाको सहारा नगरप्रमुख’ कार्यक्रमअन्तर्गत राशन कार्ड वितरण गरिएको नगरप्रमुख भट्टले बताए । कार्यविधि अनुसार ६० वर्षमाथिका बेसहारा आमाबुवालाई मासिक रुपमा निःशुल्क खाद्यान्न वितरण गरिने उहाले बताउनुभयो । उनीहरुले सुपथ मूल्य पसलबाट राशन कार्डमार्फत मासिक रुपमा १५ किलोग्राम चामल, २ किलोग्राम नून, २ किलोग्राम दाल, २ लिटर तेल तथा ४÷४ गोटा नुहाउने र लुगा धुने साबुन पाउनेछन् ।

बेसहारा वृद्धआमाबुवालाई बाचुन्जेलसम्म नगरपालिकाले खाद्यान्न उपलब्ध गराउने नगरप्रमुख भट्टले बताए । बुढेसकालमा आफूहरुले स्थानीय सरकारबाट राहत पाएको भन्दै बेसहारा वृद्ध आमाबुवाहरुले खुसी व्यक्त गरेका छन् ।

यसैबीच शुक्रवारै वडा नम्बर २ र ३ मा सुपथ मूल्य पसलको उद्घाटन गरिएको छ । अब स्थानीयहरुले घर नजिकैको सुपथ मूल्य पसलबाट चामल, दाल, नून, तेल र साबुन तोकिएको मूल्यमा खरिद गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *