कविता – मेरो देशको सरकार


गर्ने गर्दैन त्यो नगर्ने गर्छ
माथि चढ्नुपर्ने ठाउँमा तल झर्छ, तल झर्नुपर्ने ठाउँमा माथि चढ्छ
देखाउने चीज छोप्छ र छोप्नुपर्ने चीज देखाउँछ
ओढ्नेलाई ओछ्याउछ र ओछ्याउनु पर्ने ओड्छ,
मेरो देशको सरकार ।

स्कुल, अस्पताल मासेर मन्दिर बनाउँछ
बस्ने छानो उडाएको रमिता हेर्दै
मन्दिरको चाँदीको छानोमा सुनको जलप लगाउँछ
नियन्त्रणमा लिँदैन कोरोना
तर नियन्त्रणमा लिन्छ पत्रकार
मेरो देशको सरकार

खानुपर्ने थुक्छ र थुक्नुपर्ने खान्छ
थुकेको चाट्छ र चाटेको थुक्छ
अपराध र अपराधीलाई छोड्छ र निर्दोषलाई थुन्छ
बाघ मार्न सक्दैन, ब्राहर मार्नै सक्दैन यसले
शंख फुक्दैफुक्दै सुनाउँछ भोका पेटलाई
धरहराबाट स्याल मारेको समाचार
मेरो देशको सरकार

त्यसैले त भन्न मन लाग्छ
ए सरकार
हिम्मत छ भने तेरो छातीमा
कलम बोक्ने पत्रकारहरूलाई होइन
सुदर्शन, वीरजङ्ग, माइला लामा र रणवीरहरूलाई होइन
मेरो भोकलाई तेरो जेलमा थुन
मेरा दुःखलाई तेरो हिरासतमा ले
तेरो र मेरो गरिबीलाई अदालतको कठघरामा हाजिर गर

ए सरकार
जेल थुनेर हत्या नगर जगतहरूको
यदि गोली छ भने तेरो बन्दुकभित्र
निर्दोष कुमार पौडेलहरूलाई होइन
र मलाई पनि होइन सरकार ।
मेरो रोगलाई तेरो गोलीले भुटि दे
अनि म तँलाई मेरो मनको धरहरा चढाउने छु,
जसको तल्लो तलानै तँ आजसम्म पनि चढ्न सकेकै छैनस् ।

(आजाद भाैतिकवादी दर्शनका अध्येता एवं प्रगतिवादी कवि हुनुहुन्छ।)

Leave a Reply

Your email address will not be published.