भाउजु हत्याको आरोपमा देवर पक्राउ


विराटनगर । मोरङको रंगेलीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।

रंगेली नगरपालिका– ३ कि २४ वर्षीय अनिता यादवको हत्या संलग्न भएको आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो ।
बुधबार बिहान पानी नरहेको नहरको बीच भागमा अनिताको शव फेला परेको थियो । शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीले श्रीमान बेचनसहित परिवारका चारजना सदस्यलाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्यामा १९ वर्षीय देवर विनोदको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

‘महिलाको हत्यामा देवरको संलग्नता देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने,‘प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण घर झगडा देखिन्छ ।’
दिउँसो विवाद, बेलुका लखेटेर हत्या

प्रहरीका अनुसार मंगलबार दिउँसो हत्या आरोपी देवर र मृतक अनिताबीच विवाद भएको थियो । बेलुका अनिता नहरको बाटो हुँदै कतै गइरहेका बेला विनोदले पछ्याए । त्यसपछि विनोदले नहरमा लडाएर धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।

मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने, ‘मृतक महिला घरबाट कहाँ हिडेकी हुन भन्ने खुलेको छैन ।’

मंगलबार बेलुका अनिता घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । तर बुधबार बिहान शव भेटिएपछि प्रहरीमा खबर पुगेको थियो ।

शव भेटिएको हल्ला चलेपछि गाउँलेहरु घटनास्थलतर्फ लागेका थिए । तर हत्या आरोपी विनोद भने घटनास्थल तर्फ नगई अन्तै लागेका थिए । विनोदलाई प्रहरीले घर बाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।

अनिता र विनोदका दाजु बेचनबीच दुई वर्षअघि विवाह भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *