भारतबाट फर्कनेलाई ५ वर्ष जेल र ६६ हजार डलरसम्म जरिवाना गर्ने चेतावनी


अष्ट्रेलियाले जबर्जस्ती भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ । भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ ।

भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको खबरमा उल्लेख छ । आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताउनुभयो ।

भारतमा सङ्क्रमणदर बढेसँगै अमेरिकासहितका कयौँ देशले भारतसँगका उडान बन्द गरेका छन् । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *