भारतीय सेना प्रमुख नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यक्रम


काठमाडौँ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

‘उनको भ्रमणको यो मिति भारतीय पक्षले तोकेको हो । नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन,’ नेपाली सेनाको जंगीअड्डा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘आज दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुन्छ ।’ भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको स्रोतले बतायो ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।

यसअघि भारतका खुफिया एजेन्सी प्रमुख गोयल नेपाल भ्रमणमा आएका थिए ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच चर्किएको सीमा विवाद चर्किएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *