सैनिकमञ्चमा फूलपाती बढाइँ


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा शुक्रबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ ।

समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो ।

संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत् राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

समारोहमा सैनिक ब्यान्डले ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्‍यो ।

कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो ।

यसपटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटोमात्र होइन, कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो ।

बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिगण, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि फूलपाती बढाइँ हेर्न सैनिक मञ्च पुग्नुभएको थियो । उहाँहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत अभिवादन गर्नुभएको थियो ।

बढाइँ कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बढाइँ हेर्न विगतमा जस्तो टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो देखिन्नथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *