शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाबिच पृथ्वी प्रज्ञा


कार्तिक १४, २०७४-नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रा. तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको सोमबार बसेको ३२ औं प्राज्ञ सभाको बैठकले शर्मालाई चार लाख रुपैयाँसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार प्रत्येक चार वर्षमा दिने गरिन्छ ।

त्यस्तै, प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख रुपैयाँसहितको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा. वीणा पौडयाल घिमिरेलाई र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ धनुषाका प्रा. रामावतार यादवलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष दिँदै आएको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७३’ कवि विमल निभालाई र २०७४ को कथाकार धु्रव सापकोटालाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, मातृभाषाको साहित्यका लागि दिइने ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, २०७३’ नेपालगन्जका अब्दुल लतिफ सौक र भोजपुरका पदम राईलाई र २०७४ को मोरङका सोमबहादुर धिमाल र रामेछापका धनबहादुर माझीलाई दिइने भएको छ । यी पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

देशको सभ्यता मापन गर्ने मूल आधार त्यसको वाङ्मयिक ढुकुटी नै भएको बताउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले प्रतिष्ठानले बदलिँदो राजनीतिक परिवर्तनलाई आत्मसात गर्ने गरी मुलुकका सबै भाषा संस्कृति र वाङ्मयलाई समेटेर अझै प्रभावकारी रूपमा काम गर्दै जानुपर्नेमा जोड दिए । वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले नेपाललाई भाषिक, सांस्कृतिक पर्यटनको क्षेत्रका रूपमा विकास गर्न प्रतिष्ठानले काम गर्नुपर्ने बताए । त्यस्तै, नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले प्रज्ञा प्रतिष्ठानले अरू प्रतिष्ठानसँग पनि सद्भाव राख्दै सहकार्य गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *