बेलायत उत्रिए नेपाल आइडल विजेता


कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’

नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत पनि गाउने योजना छ । सकेसम्म दर्शकलाई भरपुर मनोरन्जन गराउनेछु ।’

आफूलाई जिताउन बेलायतका नेपालीले गरेको सहयोगप्रति उनी कृतज्ञ थिए । अहिले सेलिब्रेटी बन्दा जति खुशी छन् उनी, चुनौति थपिएकामा चिन्तित पनि उत्तिकै । ‘आफ्नो करिअर यसैमा स्थापित गर्न मलाई च्यालेन्ज छ त्यसैले गम्भीर भएर लाग्नेछु’, उनले भने ।

लामासँगै बेलायत उत्रिएका फस्ट रनरअप निसान

भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राईलाई पनि यहाँको कन्सर्ट कौतुहलपूर्ण छ । उनीहरु सकेसम्म फरक स्वाद पस्कन उत्सुक छन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् ।

गायक श्रेष्ठको भूमिका यसपटक मेन्टरका रुपमा छ । ‘गायनअघि प्रशिक्षण दिने कुरा नेपालका लागि नौलो प्रयोग हो’, २४ वर्षदेखि गायनमा सक्रिय श्रेष्ठले भने, ‘नेपाल आइडल विजेताहरुलाई ग्रुमिङ, कोचिङ गर्ने मेरो जिम्मा छ । उनीहरु अप्रत्यासित रुपमा सफलताको शिखर चढे । यही सफलताबीच उनीहरुले सही मार्गदर्शन पाए अझ राम्रो गर्न सक्छन् र दर्शकको अपेक्षा पनि बढि छ ।’

नेपाल आइडल विजेताहरुको पहिलो शो शुक्रबार नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।

‘आइडल विजेताहरु सकुशल बेलायत आइपुगेका छन् । ऐतिहासिक कार्यक्रमको प्राविधिक तयारी पनि पुरा भइसकेको छ’, आयोजक मध्ये एक राजाराम गिरीले भने, ‘कार्यक्रममा हल डेकोरेसन, लाइभ म्यूजिक र स्क्रिन प्रोजेक्सनलेदर्शकलाई नेपाल आइडलकै झल्को दिनेछ ।’

संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर (मुख्य आयोजक) र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामाकन्सर्टहुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *