वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी


१७ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ ।

नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफमा वाम गठबन्धनले पनि आफ्नो घोषणापत्रका कांग्रेसप्रति निकै कडा रुप अपनाएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कांग्रेस, राप्रपा, राजपा, संघीय समाजवादी फोरम र अन्य साना कम्युनिस्ट पार्टीहरुप्रतिको दृष्टिकोण राखिएको छ जसमा कांग्रेस दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्दि्रत भएको आरोप लगाइएको छ ।

कांग्रेसले स्थापनाकालमा कतिपय सामाजिक-आर्थिक सुधारका कदम चालेको भए पनि सामन्तवादलाई अन्त्य गर्ने, जनतालाई अधिकार सम्पन्न बनाउने तथा राष्ट्रियतालाई सुदृढ गर्ने विषयमा सकारात्मक भूमिका खेल्न नसकेको वाम गठवन्धनको ठहर छ ।

‘कांग्रेसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकारवादी पूँजीपति वर्गसँग सम्झौता र आत्मसमर्पणको रहँदै आएको छ,’ घोषणापत्रमा लेखिएको छ, ‘मुख्यरुपमा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका नीतिहरु अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन् ।’

कम्युनिष्ट पार्टीहरुसँग आफ्नो वर्गीय र पार्टीगत स्वार्थ रक्षाका निम्ति मात्रै सहकार्य गर्ने गरेको आरोप एमाले र माओवादीले कांग्रेसलाई आरोप लगाएका छन् ।

वाम गठबन्धनको घोषणापत्रमा लेखिएको छ- ‘कांग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहीत स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ । यसले कैयनपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयन पटक जनविरोधी काम पनि गरेको छ ।’

कांग्रेसले बहुमत प्राप्त गरेका बेला निजीकरणको नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरु समाप्त गरेको, नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको, भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको आरोप लगाइएको छ ।

कांग्रेसप्रतिको दृष्टिकोण सार्वजनिक गर्दै एमाले र माओवादीले भनेका छन्, ‘यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसँग छैन ।’

कांग्रेसले राष्ट्रियता र लोकतान्त्रिक मूल्यमान्यताको अवमूल्यन लगायतका कमजोरीहरु हटाएन र जनपक्षीय चरित्र विकास गर्न सकेन भने जनसमर्थन गुमाउँदै जाने चेतावनी उनीहरुले दिएका छन् ।

राजपाको नीति आत्मसमर्पणवादी

माले र माओवादीको घोषणापत्रमा राजपालाई राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषकका रुपमा व्याख्या गरिएको छ । संघीयताको कुरा गरे पनि राजपा स्थानीय तहको स्वशासनको अधिकारको विपक्षमा उभिएको आरोप समेत लगाइएको छ ।

राजपा मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो भन्दै घोषणापत्रमा लेखिएको छ, ‘यसले राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषण गर्दछ र गरिबमुखी तथा श्रमिकवर्गीय सामाजिक- आर्थिक रुपान्तरणको विरोध गर्दछ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख नीतिको विरोध गर्छ । संघीयताको कुरा गरेपनि यो पार्टी स्थानीय तहको स्वशासनको अधिकारको विपक्षमा उभिएको छ ।’

संघीय फोरमप्रति नरम

उपेन्द्र यादवलाई पनि वाम गठवन्धनमा ल्याउन प्रयास गरेका एमाले र माओवादी संघीय समाजवादी फोरम पार्टीप्रति भने तुलनात्मकरुपमा नरम देखिएका छन् ।

यादव नेतृत्वको संघीय समाजवादी फोरम राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई-मधेश आधारित पार्टी हो भन्दै यसका कामलाई हेरेर नीति निर्धारण गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । यद्यपि संघीय समाजवादी फोरमको नीति, काम र व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने किसिमको भनेर आरोप लगाइएको छ ।

राप्रपाको चरित्र सामन्तवादी

राप्रपालाई राजतन्त्रात्मक व्यवस्थाका समर्थक र त्यसलाई पुनःस्थापना गर्न चाहने पूर्वपञ्चहरुले निर्माण गरेको पार्टीको रुपमा व्याख्या गरिएको छ । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी भएको ठहर एमाले र माओवादीले गरेका छन् ।

घोषणापत्रमा लेखिएको छ, ‘आफ्ना सामन्तवादी चरित्रमा पर्दा लगाउन राप्रपाका विभिन्न समूहहरुले उदारवाद, लोकतन्त्र र राष्ट्रवादको नारा पनि लगाउने गरेका छन् । राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो ।’

राप्रपाका विभिन्न समूहले लिने नीति र गर्ने व्यवहारका आधारमा यी समूहहरूलाई हेरेर व्यवहार गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

देशमा रहेका अन्य साना कम्युनिस्ट समूहहरूमा जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्ति रहेको वाम गठवन्धनको ठहर छ । त्यस्ता गुटवादी प्रवृत्तिको आलोचना गर्दै एकता, ध्रुवीकरण र सहकार्यमा ल्याउने प्रयत्न गर्ने घोषणापत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *