महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने

६३ करोड ३४ लाख ९५ हजार १ सय ६ रुपैयाँको बजेट पेश


दार्चुला । महाकाली नगरपालिकाले युवाहरूलाई विना ब्याज १० लाखसम्म ऋण दिने भएको छ ।

कोरोनाका कारण स्वदेश तथा विदेशबाट फर्किएर बेरोजगार बनेका युवाहरूलाई विना ब्याज रु १० लाख सम्म ऋण उपलब्ध गराउने गरी महाकाली नगरपालिकाको छौठौँ नगरसभाले नीति तथा कार्यक्रम ल्याएको हो ।

बुधबार अगामी वर्षका लागि निति तथा कार्यक्रम ल्याउँदै नगरपालिकाले बेरोजगार युवाहरूलाई कृषि उत्पादन र पशुजन्य उत्पादनको क्षेत्रमा काम गर्न चाहेमा सहकारी लगायतका वित्तिय संस्थाहरूको सहकार्यमा ऋण दिन सकिने कार्यक्रम ल्याइएको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताउनुभयो ।

नगरसभामा महाकाली नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हंसराज भट्टले युवाहरूलाई दुग्ध पदार्थ, मासु, अण्डा तथा चल्ला, तरकारी लगायतका उत्पादनका क्षेत्रमा ऋण सहयोग दिने गरी ऋण सहयोग कार्यक्रम ल्याइएको बताए ।

त्यस्तै नगरपालिकाले यसपटकको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
कृषि उत्पादक एवं पशुपालक किसानहरूलाई विगतमा दिइँदै आएको सहुलियत छुट एवं अनुदानलाई निरुत्साहित गर्दै उत्पादनको परिमाणका आधार अनुदान दिने नीति अबलम्बन गरिएको नगर प्रमुख भट्टले जानकारी दिनुभयो ।

त्यस्तै नगरसभाले स्वास्थ्य क्षेत्रका समस्यालाई मद्देनजर गर्दै एम्बुलेन्स खरिदका लागि आवश्यक रकम विनियोजन गेको छ ।

आकस्मिक दुर्घटना एवं गम्भीर प्रकृतिका ‘रिफरल केश’हरू जस्तै प्रसव पीडा, एपेन्डिसाइटिस, हार्ट अर्टेक, मृगौला फेलियर, ब्रेन हेम्ब्रेजहरूमा नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने महाकाली नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामान्य रिफरल केशहरूमा एम्बुलेन्सको शुल्कमा ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रममा समेटिएको छ । त्यस्तै नगरबस सेवा प्रति नगरवासीहरूको समर्थन एंव सन्तुष्टिलाई सम्मान गर्दै अगामी आ.व. मा खलंगा देखी डुङरी, काटैं, मैखोली र दल्लेख सम्म नगरबस सेवा प्रारम्भ गरिने नगरप्रमुख भट्टले बताउनुभयो ।

अगामी वर्ष नगर विकास कोषसँगको सहकार्यमा महाकाली नगरपालिका वडा नम्बर ४ मा अत्याधुनिक कमर्सियल भवनका रूपमा महाकाली मल निर्माण गर्ने समेत नगरप्रमुख भट्टले बताउनुभयो ।

अन्न दाताका रुपमा रहेका कृषकहरुको कृषि पेशा प्रति आत्म गौरव बढाउन एवं कृषिलाई व्यवसायिकता तर्फ लैजान र युवा शक्तिलाई कृषि पेसातर्फ आकर्षित गर्न प्रोत्साहन गर्ने उद्देश्यले कृषकहरूलाई सम्मान सहित कृषक पेन्सन कार्यक्रम लागू गरिने भएको छ ।

नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ६३ करोड ३४ लाख ९५ हजार १ सय ६ रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *